जीतपुर । जीतपुरसिमरा क्षेत्रका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दै नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिमा आमन्त्रित सदस्यका रूपमा चयन भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको नेतृत्वमा गठन गरेको उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यको जिम्मेवारी दिइएको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गुप्तालाई मनोनयनसम्बन्धी पत्र प्रदान गरेका छन्।
महासंघले उद्योग क्षेत्रसँग जोडिएका समस्या, सम्भावना र नीतिगत विषयमा समितिमार्फत हुने छलफल तथा पहलमा गुप्ताको सहभागिताले थप योगदान पुग्ने अपेक्षा गरेको छ। औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धनका विषयमा समितिको कामलाई प्रभावकारी बनाउन उनको अनुभव उपयोगी हुने महासंघको विश्वास छ।
गुप्ता हालै सम्पन्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। उद्योग तथा व्यवसाय क्षेत्रका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई महासंघको उद्योग समितिमा प्राप्त जिम्मेवारीले स्थानीय उद्योगी–व्यवसायीका समस्या राष्ट्रिय तहमा पुर्याउने अवसरसमेत बढाएको व्यवसायीहरूले बताएका छन्।
समितिमा रहेर औद्योगिक क्षेत्रमा देखिएका व्यवहारिक समस्या, लगानीको वातावरण तथा उद्योगी–व्यवसायीका नीतिगत सरोकारका विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


