कलैया । जिल्ला हुलाक कार्यालय बाराले कर्मचारीबीच आपसी सहकार्य र सद्भाव बढाउने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक खेल आयोजना गरी विश्व हुलाक दिवस मनाएको छ।
‘एक हुलाक सञ्जाल, अनन्त सम्भावनाहरू’ भन्ने नारासहित शुक्रबार आयोजित कार्यक्रममा म्युजिकल चेयर, फुटबल शट गोल, बोटल फ्लिप, स्पुन रेस र घैँटो फुटाउनेलगायतका प्रतियोगिता सञ्चालन गरिएका थिए। जिल्ला हुलाक कार्यालयका कर्मचारी गौतम हस्तीका अनुसार प्रतियोगितामा सहभागी कर्मचारीले विभिन्न खेलमा आफ्नो क्षमता प्रदर्शन गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई कार्यालय प्रमुख दीपक पटेलले पुरस्कार प्रदान गरे। पुरस्कार वितरणपछि उनले समयअनुसार हुलाक सेवालाई परिमार्जन गर्दै यसको प्रभावकारिता बढाउनुपर्ने बताए। सेवा प्रवाहलाई व्यवस्थित बनाउन कर्मचारीबीच समन्वय र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।
विश्व हुलाक दिवसका अवसरमा आयोजित कार्यक्रमले नियमित कार्यव्यस्तताबीच कर्मचारीलाई मनोरञ्जन प्रदान गर्नुका साथै उनीहरूबीच आपसी सम्बन्ध, उत्साह र सहकार्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।


