रौतहट प्रहरीको तीनमहिने प्रगति : १३५ प्रतिवादी पक्राउ, ५७ लाखभन्दा बढी राजस्व संकलन

Om Prakash Yadav
58 पाठक संख्या

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८३/०८४ को असोज २० गतेसम्म अपराध अनुसन्धान तथा नियन्त्रण, फैसला कार्यान्वयन, सवारी दुर्घटना नियन्त्रण र अवैध गतिविधिविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति गरेको जनाएको छ।

यस अवधिमा प्रहरीले विभिन्न मुद्दामा १३५ जना प्रतिवादी पक्राउ गर्नुका साथै भन्सार छलीका सामानबाट मात्र ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा अपराध अनुसन्धान, शान्तिसुरक्षा कायम, अवैध कारोबार नियन्त्रण तथा नागरिकलाई सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिएको छ।

गत साउन महिना देखि असोज २० गतेसम्म जिल्लामा २५१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १५६ वटा मुद्दा फर्छ्योट भएका छन् भने ९५ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्।

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले पाँचवटा मुद्दा दर्ता गरी ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकासँगै गाँजा ५ किलो १६५ ग्राम, ब्राउनसुगर १५ ग्राम १६५ मिलिग्राम र मनोद्वीपक पदार्थ ७१ पिस बरामद गरिएको विवरणमा उल्लेख छ।

त्यस्तै, फैसला कार्यान्वयन अभियानअन्तर्गत १३५ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ६६ लाख ६३ हजार ९७० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ। फैसला कार्यान्वयनतर्फ कैद सजाय भुक्तान गर्नुपर्ने अवधि ६७ वर्ष १ महिना ४ दिन रहेको छ।

सवारी दुर्घटनाको तथ्याङ्क भने चिन्ताजनक देखिएको छ। उक्त अवधिमा जिल्लाभर १८१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकविरुद्ध २४८ वटा कारबाही गरिएको छ। उक्त कारबाहीबाट २० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ।

नागरिकका गुनासा तथा विवाद समाधान गर्ने क्रममा प्रहरीले ६६६ वटा ठाडो उजुरी दर्ता गरेको छ। तीमध्ये ५७२ वटा उजुरी फर्छ्योट भएका छन् भने ९४ वटा उजुरी प्रक्रियामा रहेका छन्।
यसले नागरिकका गुनासा सम्बोधन तथा स्थानीय स्तरमा देखिने विभिन्न विवाद समाधानका लागि प्रहरीले काम गरिरहेको देखाउँछ।

भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। यससम्बन्धी कारबाहीबाट ५७ लाख ५३ हजार ३६३ रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा २६ वटा सवारीसाधन र आठ जना मानिसमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट एक लाख ४५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ।

अवैध काठ ओसारपसार तथा कारोबार नियन्त्रणका क्रममा प्रहरीले सातवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये चारवटा साइकल र तीनवटा ट्र्याक्टर रहेका छन्।

प्रहरीले उक्त कारबाहीका क्रममा २३१ घनफिट काठ बरामद गर्नुका साथै तीन जनालाई पक्राउ गरेको छ। यसबाट दुई लाख ६७ हजार ४५ रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रदान गरिएका विभिन्न सेवा तथा गतिविधिबाट यस अवधिमा १८ हजार ७५३ जना सेवाग्राही लाभान्वित भएका छन्।.लाभान्वित हुनेमा ४ हजार ५२८ जना महिला, १३ हजार ५६१ जना पुरुष र ६६४ जना बालबालिका रहेका छन्।

१ हजार १२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रौतहट जिल्लाको जनसंख्या ८ लाख १३ हजार ५७३ रहेको विवरणमा उल्लेख छ। जिल्लामा प्रहरीको स्वीकृत दरबन्दी ९०४ जना रहेकामा हाल ८१९ जना प्रहरी कर्मचारी कार्यरत छन्।

प्रहरी कर्मचारीको क्षमता विकास तथा कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस अवधिमा ११ जनालाई पुरस्कृत गरिएको छ भने १२ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, ३५ जना प्रहरी कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागुऔषध नियन्त्रण, अवैध कारोबार रोकथाम तथा नागरिकका गुनासा सम्बोधनलगायतका क्षेत्रमा सञ्चालन गरेका गतिविधिले जिल्लाको शान्तिसुरक्षा कायम गर्ने प्रयासलाई निरन्तरता दिएको छ।

Leave a review