सिमराबाट बेपत्ता ११ वर्षीया बालिका वीरगन्जमा सकुशल भेटिइन्

साझेदारी डेलि
283 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ सिदरिया टोलबाट तीन महिनाअघि बेपत्ता भएकी ११ वर्षीया सनाया खातुन वीरगन्जस्थित एक बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन्।

गुलाब्सा खातुनकी छोरी सनाया गत जेठ १७ गते कसैलाई जानकारी नदिई घरबाट निस्किएपछि परिवारले आफन्त तथा छरछिमेकमा खोजतलास गरेका थिए। लामो समयसम्म फेला नपरेपछि उनकी आमाले मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय सिमरामा फोटोसहितको हुलिया निवेदन दिएकी थिइन्।

निवेदनपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहितको टोली बालिकाको घरमा पुगेर परिवार तथा स्थानीय जनप्रतिनिधिसँग सोधपुछ गर्दै खोजी अघि बढाएको थियो।

खोजतलासका क्रममा सनाया वीरगन्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षा समितिका पदाधिकारी, प्रहरी टोली र बालिकाकी आमा उक्त बालगृहमा पुगेका थिए। त्यहाँ बालिकासँग भेटघाट गर्दा उनी सकुशल रहेको र आमाको सहमतिमा बालगृहमा बसिरहेको पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार सनाया यसअघि पनि दुई पटक हराएकी थिइन्। फागुन महिनामा हराउँदा इलाका प्रहरी कार्यालय सिमराले उनलाई फेला पारेको थियो भने वैशाखमा पुनः हराएपछि वडा प्रहरी कार्यालय श्रीपुर, पर्साले फेला पारी आमाको जिम्मा लगाएको थियो।

Leave a review