बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर १, २ र २१ मा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
नगरप्रमुख राजन पौडेलको संयोजकत्वमा बिहीबार बसेको स्थानीय तहस्तरीय भूमि समस्या सहजीकरण समितिको बैठकले तीनवटै वडाबाट संकलन गरिएको विवरणमाथि छलफल गर्दै आवश्यक प्रक्रिया पूरा गरी नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा प्रस्तुत विवरणअनुसार वडा नम्बर १ मा ५ जना भूमिहीन दलित र ११६ जना भूमिहीन सुकुम्बासी रहेका छन्। वडा नम्बर २ मा १७ जना भूमिहीन दलित, २६ जना भूमिहीन सुकुम्बासी तथा ७७२ जना अव्यवस्थित बसोबासीको विवरण संकलन भएको छ।
त्यसैगरी वडा नम्बर २१ मा १ जना भूमिहीन दलित, २६ जना भूमिहीन सुकुम्बासी र ६०८ जना अव्यवस्थित बसोबासी रहेको विवरण समितिको बैठकमा प्रस्तुत गरिएको थियो। समितिले सम्बन्धित वडा कार्यालयमार्फत ७ दिनसम्म सार्वजनिक सूचना प्रकाशन गरी संकलित विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।
सार्वजनिक सूचनापछि प्राप्त प्रक्रिया पूरा गरी वडास्तरीय भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिको सिफारिस र वडा समितिबाट प्रमाणित विवरणलाई नगर कार्यपालिकामा पेश गरिने जनाइएको छ।
नगरप्रमुख पौडेलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि प्रक्रिया पारदर्शी, व्यवस्थित र कानुनसम्मत ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
बैठकमा समितिका उपसंयोजक तथा उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष हिरा बहादुर गुरुङ, वडा नम्बर २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठलगायत समितिका सदस्यहरूको सहभागिता रहेको थियो।
तीन वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरणलाई औपचारिक रूपमा नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णयसँगै वर्षौंदेखि जग्गाको स्वामित्वको पर्खाइमा रहेका स्थानीयमा आशा बढेको छ।
स्थानीय तहबाट व्यवस्थापन प्रक्रिया अघि बढेसँगै आफूले बसोबास वा उपयोग गर्दै आएको जग्गाको स्वामित्व तथा लालपुर्जा प्राप्त हुने अपेक्षा उनीहरूले गरेका छन्।


