जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि वडास्तरका योजना कार्यान्वयनको अधिकार वडा कार्यालयमै पुर्याएको छ। उपमहानगरले योजना सम्झौता, कार्यादेशदेखि भुक्तानीसम्मको जिम्मेवारी २४ वटै वडा कार्यालयलाई दिएपछि मधेश प्रदेशमै यस्तो व्यवस्था गर्ने पहिलो स्थानीय तह बनेको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले २४ वटै वडा सचिवलाई अधिकार प्रत्यायोजन गरेसँगै वडाका लागि विनियोजित २८ करोड ५० लाख ३८ हजार १ सय ४७ रुपैयाँका योजना कार्यान्वयनको जिम्मेवारी वडा सचिव र प्राविधिक कर्मचारीमा पुगेको छ।
यसअघि वडास्तरीय योजनाको सम्झौता र भुक्तानीका लागि सेवाग्राही उपमहानगरपालिकाको मुख्य कार्यालय धाउनुपर्ने अवस्था थियो। अधिकार वडा कार्यालयमै पुगेपछि सेवाग्राहीलाई सहज हुने र योजना कार्यान्वयनमा समेत समय बचत हुने उपमहानगरपालिकाको अपेक्षा छ।
तर, वडामा आवश्यक जनशक्ति पर्याप्त नभएकाले नयाँ जिम्मेवारी कार्यान्वयनमा चुनौती आउन सक्ने वडाध्यक्षहरूले बताएका छन्। विशेषगरी लेखा, प्राविधिक र अधिकृत तहका कर्मचारीको अभाव रहेको उनीहरूको भनाइ छ।
नगर प्रमुख राजन पौडेलले उपलब्ध कर्मचारीलाई आवश्यक तालिम दिएर काम अघि बढाइने बताउनुभयो। थप जनशक्तिका लागि प्रदेश लोकसेवा आयोगसँग माग गरिएको उहाँले जानकारी दिनुभयो।
अधिकार हस्तान्तरणसँगै वडा सचिवहरूलाई सार्वजनिक खरिद तथा स्थानीय वित्त व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिमसमेत सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ।


