वीरगञ्जमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगञ्जका बचतकर्ताहरु सडकमा उत्रेका छन् ।
उनीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।वीरगञ्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरुले विरोध जुलुश निकालेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । बचतकर्ताको रकम फिर्ता गर,बचतकर्ताको रकम टिभीमा लगानी गर्न पाइदैन लगायतका नारा लगाउदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
टिबडेवाला धर्मशाला परिसरबाट निस्किएको विरोध जुलुशले महानगर परिक्रमा गरेको हो । सो र्याली घण्टाघर चोकमा पुगेर सभामा परिणत भएको थियो ।
बचतकर्ताको रकम फिर्ता नगरी फरार भएका सहकारीका मुख्य सञ्चालक जीबी राई सहितलाई पक्राउ गर्न उनीहरुले माग गरेका हुन् ।
उनीहरुले पीडित बचतकर्ताहरुको रकम फिर्ता गराउनुपर्ने माग गरेका हुन् ।सहकारीले लामो समयदेखि बचतकर्ताहरुको रकम फिर्ता गरेको छैन भने त्यसका सञ्चालक जिबी राई सहितका पदाधिकारीहरु फरार भएका छन ।
सोहीक्रममा बिहीबार बीरगन्ज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगँज कार्यालयमा शिलबन्दी गरेको हो ।
वीरगञ्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले महानगरको वडा नम्बर ६ का वडाध्यक्ष जय प्रकाश शाह,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव,वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतोको रोहवरमा शिलबन्दी गरिएको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगँजले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेकोले कार्बाहीको प्रकृया अगाडी बढाएको उनले जनाए । सोही क्रममा कार्यालयमा शिलबन्दी गरिएको बीरगन्ज महानगरपालिकाले जानकारी दिएको छ ।

