प्रादेशिक अस्पताल कलैयामा अबदेखी डाइलासिस् र इन्डोस्कोपी सेवा पाईने

साझेदारी दैनिक
342 पाठक संख्या

बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा थप स्तरोन्नती भएसंगै अबदेखी डाइलासिस् र इन्डोस्कोपी सेवा पनि उपलब्ध हुने भएको छ।

लामो समय पछी प्रादेशिक अस्पतालमा डाइलासिस् र इन्डोस्कोपी सेवा
सञ्चालनमा आएको छ ।

बुधवादखी यो सेवा सुरु भएको हो । एक अनौपचारिक कार्यक्रमकाबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार उद्घाटन गरेसंगै सेवा सूचारु भएको हो ।

मुख्यमन्त्री यादवले बुधवार नै विभिन्न तीन वटा वार्डको उद्घाटन गरेसंगै उक्त सेवाहरु संचालनमा आएको अस्पालले जनाएको छ ।

मुख्यमन्त्री यादवले अस्पतालमा डाइलासिस्,इन्डोस्कोपी र नवजात शिशुहरुको लागी एसेनसियु वार्डको एकैसाथ उद्घाटन गनुभएको थियो । उद्घाटन भएसंगै आजबाट अस्पतालमा यी तीन वटै सेवाहरु सुचारु भएका छन ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री यादवले आफुले नै केन्द्रीय सरकारको स्वास्थ राज्यमन्त्री हुदा कलैया अस्पताललाई ५० शैया बनाएको त्यसपछि आफैले १०० शैयाको अस्पताल बनाएको स्मरण गराएका छन । उहाँले बारा जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गरून् भन्ने उदेश्यले अस्पतालमा चाहिने आवश्यक सबै खाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले डाइलासिस् सेवा शुरु भएसंगै दैनिक १५ जनाले सेवा प्राप्त गर्न सकिने बताएका छन ।

उद्घाटन पश्चात मुख्यमन्त्री यादवले अस्पतालको अनुगमन समेत गर्नु भएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्रीलाई ब्रिफिङ्ग गर्दै अस्पतालका मेसु गुप्ताले अस्पतालका लागि सिटी स्क्यान मेसिन र ईको मेसिनको उपलब्धता गराईदिन आग्रह गरेका थिए । अस्पतालले अब आवश्यक सबै सेवा बिस्तारै प्रवाह गर्दै जाने मेसु गुप्ताको भनाई छ ।

Leave a review

This will close in 0 seconds