कलैया उपमहानगरपालिका भित्र रहेका विद्यालयमा समयमा नआउने शिक्षकलाई स्पष्टीकरण सहित ग्रेड घटाउने कुरा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले बताएका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा तथा सेवा प्रदायक संस्था नेपाल जनशक्ति सीप विकास तथा परामर्श केन्द्र प्रालिको आयोजनामा भएको सार्वजनिक सुनवाई कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा सो सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हो । पोशाक नलगाउने शिक्षकको पोशाकबाट पाइने रकम कट्टा गर्ने उनले बताए ।
उपमहानगरपालिकाको विकासमा आफूले कुनै सम्झौता नगरेको दावी गर्दै उनले बताउदै विकास निर्माणको कामलाई तिव्रतापूर्वक अगाडी बढाएको उनले बताए ।
विकास निर्माणको काम अगाडी बढाएपनि आफू नै आफनो कामबाट सन्तुष्ट हुन नसकेको उनको भनाई रहेको थियो । कार्यक्रममा आम नागरिक तथा पत्रकारहरुले उठाएको प्रश्नको उत्तर नगर प्रमुख साहले दिएका हुन्।
कलैया उपमहानगरपालिकाबाट भ्रष्टाचारको अन्त्य गरेको उनले दावी गरे । विकास निर्माणको कामलाई अगाडी बढाएको उनले जनाए ।
शिक्षामा जुन रुपमा विकास हुनु पर्ने हो हुन नसकेको उनले बताए ।
आफू शिक्षा विकासमा मात्र अहिलेसम्म असक्षम देखिएको छु, उनले भने । जे गरेपनि सुधार हुन सकेको छैन । नातावाद, कृपावादबाट आएका शिक्षकहरुको कारण शिक्षामा गुणस्तर आउन नसकेको उनले जनाए ।
शिक्षामा सुधार ल्याउन नसके कारवाही अगाडी बढाइने उनले उद्घोष गरे । कतिपय स्कूलहरुमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
मटिअर्वा र उत्तर झिटकैयामा विद्यालय व्यवस्थापन समितिको गठन हुन नसकेको उनले जनाए । जे भएपनि शिक्षा अगाडी बढेकै छ । २७ वटा गाईमा २ वटा बहिला भए पनि फरक पर्दैन भन्दै उनले यसैलाई दृष्टिगत गरी अगाडी बढेको उनले जानकारी दिए ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनबहादुर क्षेत्रीको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वार्ड नम्बर –८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,२६ का वार्ड अध्यक्ष धर्मेन्द्र यादव,वार्ड नम्बर –१ का वार्ड सदस्य शशी दासको विशेष उपस्थिति रहेको हो ।
सो कार्यक्रममा श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरी,स्थानीय,समाजसेवी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


