बारा । बाराको पचरौताबाट प्रहरीले १५१ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ। शनिबार राति पचरौता नगरपालिका–७ स्थित धान खेतको आलीको बाटो हुँदै ल्याउँदै गरिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो।
प्रहरी चौकी श्रीनगर बैरियाका प्रहरी सहायक निरीक्षक राजेश सिंह र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीका सशस्त्र प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा खटिएको संयुक्त एम्बुस टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धान खेतको बाटो हुँदै पिठ्युँमा झोलाजस्तो बनाएर गाँजा बोकेका ८ देखि ९ जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरू आउँदै गरेको देखेपछि संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीले लखेटेपछि तस्करहरूले आफूले बोकेका गाँजाका पोका धान खेतमै फालेर फरार भएका थिए। प्रहरीले उक्त स्थानबाट ९ वटा जुटका बोरामा रहेका गाँजाका पोका बरामद गरेको हो।
बरामद गरिएको गाँजाको तौल गर्दा प्रतिपोका १६.७७ किलोका दरले कुल १५१ किलो रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार बरामद गाँजा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ। साथै, गाँजा फालेर फरार भएका अपरिचित व्यक्तिहरूको खोजी भइरहेको छ।


