एपीएफ क्लब सेमिफाईनलमा

रञ्जन यादव
461 पाठक संख्या

फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गर्दै बाराको सिमरामा जारी १४औं जीतपुरसिमरा गोल्डकपमा विभागीय टिम नेपाल एपीएफ क्लब सेमिफाईनलमा प्रबेश गरेको छ ।

क्वाटरफाइनल खेलमा शुक्रबार विहान एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे । अनन्त तामाङबाट भएको आत्मघाती गोलको कारण एपिएफले दुई शून्यको अग्रता लिएको हो ।

हावाहुरीका कारण बिहीबार राती ५८औं मिनेटमा स्थगित भएको खेल बिहान खेलाइएको थियो ।स्थगित गरिएको समयबाटै खेलाइएको खेलको ७३औं मिनेटमा बुद्धिमान राईले एपीएफलाई अग्रता दिलाएका थिए ।

अनिश महर्जनको क्रस बललाई सदुपयोग गर्दै बुद्धिमानले बललाई जालि चुमाएका हुन् । त्यसलगत्तै एपीएफले अर्को गोल गर्दै अग्रता दोब्बर पार्यो । खेलको ७५औं मिनेटमा प्रदीप तामाङको क्रस बललाई अनन्तले क्लियर गर्न खोज्दा गोल हुन पुगेको थियो ।

लगातार दुई गोल खान पुगेको फ्रेण्ड्स अन्तिम समयमा दवावमा देखियो । उसले खासै अवसर सिर्जना गर्न सकेन ।एपीएफको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान प्लेयर अफ दि म्याच घोषित भए ।

उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे ।एपीएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

एपीएफले अब फाइनल प्रवेशका लागि शनिबार नेपाल पुलिस क्लबसंग खेल्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको टाइटर स्पन्सरमा आयोजित प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

Leave a review