हरियाली अभियान चलाएर महागढिमाई नगरपालिकालाई देशकै नमुना पलिका बनाउने योजनामा रहेको नगर प्रमुख उपेन्द्र यादवले बताएका छन् ।
विश्व वातावरण दिवसका अवसर पारेर जनजागरण युवा क्लब जेजेवाईसिले बुधबार आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
आगामि बजेटले वातावरण सुधारका कार्यक्रमलाई विशेष जोड दिने उनको भनाई छ । जेजेवाईसिका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा श्री महेन्द्र प्राविधिक नमुना विद्यालयको नवनिर्मित भवनको चौरमा भएको अभियानको नगरप्रुमुख यादवले विरुवा रोपेर उद्घाटन गरेका हुन् ।
इस्लामिक रिलिफ नेपाल तथा इस्लामिक रिलिफ क्यानडाको आर्थीक सहयोगमा सामुदायिक उत्थानशिलता सुदृढिकरण(एससिआर) परियोजना अन्र्तगत भएको अभियानका क्रममा १ हजार २ सय वटा विरुवा रोपिएको छ । महागढिमाई नगरपालिकामा ६ सय र सुवर्ण गाउँपालिकामा ६ सय गरि बाह्र सय विरुवा रोपिएका हुन् ।
टिक,गुलमोहोर,सपेता लगाएतका विरुवा रोपिएको उक्त अवसरमा गढिमाई संरक्षण समितिका अध्यक्ष रामचन्द्र साह,कार्यपालिका सदस्य महेश चौरसिया,वडा सदस्य सानमती देवी राम,जनशक्ति युवा क्लब र विकासशिल युवा क्लबका सदस्यहरु,महिला कृषक समुहका प्रतिनिधिहरु,विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
एससिआर परियोजना महागढीमाई नगरपालिकाको वडा नं. १,२ र ८ तथा सुवर्ण गाउँपालिकाको १,५,६ र ८ मा सञ्चालन भइरहेको छ ।

