धनुषाको जनकपुरधाममा मंगलबार एक कार्यक्रमवीच स्वास्थ्य वीमा वापतको रकम हस्तान्तरण गरिएको छ । यहाँस्थित जनकपुर एफ.एम.मा कार्यरत पत्रकार निभा कुमारी झालाई स्वास्थ्य बीमा वापतको सुविधा रकमको चेक हस्तान्तरण गरिएको छ ।
आमसञ्चार प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले २३ हजार पाँच सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हाल २९ वर्षिया उनी जनकपुर एफ.एम. १०१.८ मेगाहर्जमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् ।
केपी खबर डट्कम्को म्यानेजिङ्ग डायरेक्टरको रुपमा समेत कार्यरत रहेकी वहाँ विगत ९ वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय छिन् ।गत चैत्रमा सिकिस्त बिरामी भई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भई धरान स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोकर्मी झाको थप उपचार गरिएको हो ।
मधेश प्रदेश प्रदेश सरकारको मन्त्री परिषद्बाट पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा सम्बन्धी कार्यविधि २०७९ पारित गरेको थियो । सोही अनुसार आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेश प्रदेशका एक सय १० जना पत्रकार महिलाहरुको बीमा गरेको थियो ।
शुरुका दुई वर्षसम्म प्राधिकरणले प्रदेशका पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गर्दै आएको छ ।
गत आ.व.मा बजेट कटौती गरिएपछि कार्यक्रम प्रभावित भएको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । चालु आ.व.२०८१÷०८२ को बजेटमा भने मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुको बीमा गर्ने गरी ३० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकायको रुपमा रहेको प्राधिकरणले गरेको बीमा कार्यक्रमबाट नेपाल पत्रकार महासंघकी सदस्य समेत रहेकी रेडियो पत्रकार रञ्जना खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
प्राधिकरणका कम्प्युटर अधिकृत प्रसन्नराज कर्णका अनुसार बीमाको सुविधा रकम उपलब्ध गराउनका लागि थप दुई जना पत्रकार महिलाको नाम राष्ट्रिय बीमा कम्पनी लिमिटेड जनकपुरधाम कार्यालयलाई सिफारिस गरिएको छ । उक्त रकमको चेक आए लगत्तै हस्तान्तरण गरिने अधिकृत कर्णले जानकारी दिए ।


