रौतहट:करण कुमार मिश्र / रौतहटको राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा भीषण आगलागी भएको छ।
आगलागीबाट सात घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आइतबार मध्यराति आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।
स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किएको अनुमान प्रहरीले गरेको छ।
आगलागीबाट जगतनाथसँगै बाबुलाल हजरा,रामनाथ पासवान,राम सोगारथ पासवान,दीपेन्द्र पासवान,विजय पासवान,कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायका अनुसार प्रारम्भिक अनुमानमा आगलागीबाट ८ लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । आगोले घर लगायत भाँडावर्तन,अन्नपातसमेत खरानी पारेको छ। आगलागी पीडित आठ वटै परिवार विचल्लीमा छन्।
आगलागी भएको खबर पाए लगत्तै बिओपी बेलबिछवा बाट सशस्त्र प्रहरीका सई मदन कुमार साहाको कमान्डमा १० जना एवम् प्रहरीचौकी बसतपुरबाट असई रामलगन दासको कमान्डमा पाँच जनाको टोली आगोलाई नियन्त्रणमा लिन खटेको थियो।
गौर नगरपालिकाको दमकल र स्थानिय वासीहरुको सहयोगमा सोमबार बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। ऋागोले मानवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख प्रहरी उपरीक्षक विक्रम हुमागाईंले बताएका छन्।

