जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले बिद्यालय पढाईबाट बञ्चित बालबालिकाहरुलाई बिद्यालय पठाउँने अभियानसुरु गरेको छ ।
उपमहानगरपालिकाको विभिन्न वडा र टोलमा विद्यालय जान नपाएका स–साना विद्यार्थीहरूलाई पठनपाठनको मौलिक हकबाट वञ्चित हुने अवस्थालाई अन्त्य गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सक्रिय कदम चालेको हो ।
नगर प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा उपमहानगरपालिकाको नगर प्रहरी टोलीले ती विद्यार्थीहरूको घरघरमा पुगेर उनीहरूका आमाबाबु तथा अभिभावकहरूसँग संवाद गर्दै बालबालिकाको शिक्षा अधिकारबारे जानकारी दिन थालेका छन् ।
अभिभावकलाई शिक्षाको महत्व सम्झाउँदै उनीहरूलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन प्रेरित गरिएको छ ।यस अभियानअन्तर्गत,नगर प्रहरी टोलीले घरघरमै पुगेर अभिभावकहरूको धारणा परिवर्तन गर्ने र बालबालिकालाई विद्यालयसम्म पुर्याउने प्रयास गरिरहेको छ ।
यो कदमले बालबालिकालाई शिक्षा दिन मात्र होइन,शिक्षित समाज निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगरप्रमुख पौडेलको भनाई छ । स्थानीयवासीहरूले नगर प्रहरीको यो कदमको प्रशंसा गर्दै बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरपालिकाले जनाएको छ ।


