जीतपुर : बाराको जीतपुरबाट हराएको ३ बर्षिय बालक अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बालकको मृत्यु डुबेर भएको बताउँनुभयो । उहाँले पोष्टमार्टम रिपोर्टले बालकको मृत्यु डुबेर भएको जानकारी दिनुभयो ।माघ १७ गते देखि रितेश चौधरीका छोरा अंश चौधरी हराईरहेका थिए ।
माघ २६ गते उनको बालको शब जीतपुर स्थित बारा र पर्साको सिमाना सियासोती खोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
बालकको परिवारजनले बालक अंशको डुबेर मृत्यु भएको नभई हत्या भएको आरोप लगाएको छ । बच्चाले लगाएको हुडि पनि अहिलेसम्म नपाउँनुले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न चिन्ह परिवारजनले खडा गरेका छन् ।
प्रहरी अनुसन्धानबाट पन्छिन् डुबेर बालककोे मृत्यु भएको बताईरहेको उहाँहरुको तर्क छ। बालकको मामा रञ्जित जयसवालले आफनो भान्जा अंशको मृत्यु आफैँ डुबेर नभई डुबाएर भएको जिकिर गर्नुभयो ।
यता बालकका बुवा रितेश चौधरीले मेरो छोराको मृत्यु ३ दिनदेखि ५ दिन सम्ममा भएको जानकारी दिए । कलैया अस्पतालका पोष्टमार्डम गर्ने डाक्टरले बच्चाको मृत्यु पानीमा डुबेर भएको बताएपनि बच्चा मृत्यु भएको समय बढिमा ५ दिनको हुन सक्ने अनुमान आफुसँग ब्यक्त गरेको बालकका बुवा चौधरीले बताए ।
प्रहरीले आफुहरुलाई पोस्टमार्डम रिपोट दिन किन प्रहरीले आनाकानी गरिरहेको छ यसले आफुहरुको शंकालाई झन बढाएको जानकारी दिए । उनले आफनो बच्चालाई कसैले मारेर खोलामा फालेको हुनसक्ने अनुमान ब्यक्त गरे । प्रहरीलाई निष्पक्ष छानबिन गर्न उनुरोध बालकका बुवा रितेश चौधरीले अनुरोध गरे ।

