प्रशासनद्वारा दुई वटा सुधार गृहमा अनुगमन

संदिप प्रसाद यादव
337 पाठक संख्या

कलैया : प्रशासनले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ र ६ मा रहेको राइजिङ्ग नेपाल र हेल्पिङ्ग हण्ड सुधार गृहको अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा गएको टोलीले आइतबार दुई वटा सुधार गृहको अवस्थाका बारेमा अनुगमन गरेको हो।

राइजिङ्ग नेपालमा १४ र हेल्पिङ्ग हण्डमा १२ जना सुधारार्थीहरू भएकाले शौचालय,खानेपानी,सुत्ने बेड,खाना बनाउने कोठा लगायतको समस्या रहेको छ।

सुधारार्थीहरू बेडको माथी पनि बेडमा म्याट्रेश बिछ्याएर सुत्न बाध्य छन् भने सिरक, तन्ना र झुलको समेत अभाव रहेको छ।

सुधार केन्द्रहरुको शाखा बिस्तारको पत्र,नवीकरण,अनुमति,भौतिक अवस्था,गुणस्तर,मापदण्ड,नियमको पालन भए नभएको तथा अन्य सेवा सुविधाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

उक्त अनुगमनमा स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रादेश खत्री,सशस्त्र प्रहरी बल नम्बर १२ गण हेक्वाटरबाट प्रहरी निरीक्षक प्रेम सिंह धामी र स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds