बारामा गणेश चतुर्थी पर्व मनाईयो

राजेश कुशवाहा
249 पाठक संख्या

कलैया : भगवान् गणेशको पूजा आराधना गरी बुधबार बारामा गणेश चतुर्थी पर्व मनाईएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाईने यो पर्व बाराको बिभिन्न स्थानमा मनाईएको हो । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । पर्वको अवसरमा जिल्लाको बिभिन्न स्थानमा रहेको गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाईएको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अध्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् बताउछन ।

गणेशपुराणअनुसार भगवान् गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा भएको हो। त्यसैले प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन वहाँको जन्मोत्सव मनाउने गरिन्छ । चतुर्थी तिथिमा पार्वतीपुत्रका रूपमा भगवान् गणेशको प्राकट्य भएकाले चतुर्थी तिथिका स्वामी भगवान् गणेश नै हुनुहुन्छ। वहाँको सर्वप्रिय तिथि चतुर्थी हो।श्रीगणेश जन्मनुभएको वार भने मंगलवार थियो।

Leave a review