नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ क्लवलाई

रञ्जन यादव
121 पाठक संख्या

बारा : नेपाल एपीएफ क्लबले नेपोभिट अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सिमरा रंगशालामा सोमबार राति सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै उपाधि उचालेको हो।फाइनलमा आर्मीले खेलको नवौं मिनेटमा दिपा शाहीको पासलाई सदुपयोग गर्दै सञ्जु कुमालले आकर्षक गोल गरिन्।

वर्षाले प्रभावित मैदानमा पहिलो हाफभर एपीएफले अवसर पाए पनि बराबरी गोल गर्न सकेन ।तर दोस्रो हाफमा खेलको पूरा लय एपीएफतर्फ मोडियो । ६४औं मिनेटमा अनिता बस्नेतको क्रसलाई हेडमार्फत जाली चुमाउँदै रश्मीकुमारी घिसिङले बराबरी गोल गरिन्। त्यसपछि ६८औं मिनेटमा कप्तान बस्नेतकै फ्रिकिकमा हेडरमार्फत दोस्रो गोल गरिन्।

जितसँगै एपीएफले पाँच लाख रुपैयाँ नगद पायो। उपविजेता आर्मीले दुई लाख ५० हजारमा चित्त बुझाउनुप¥यो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि रश्मीकुमारी घिसिङले हात पारिन्। उनले प्रतियोगिताभर नौ गोल गरिन्। एक लाख रुपैयाँ नगद समेत उनले पाइन्।

आर्मीकी कविता विक उत्कृष्ट गोलरक्षक घोषित भइन्। एपीएफका प्रशिक्षक जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक बने भने फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी सविता रानामगर भइन्। विधागततर्फ उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन्।

Leave a review

This will close in 0 seconds