रौतहट । रौतहट जिल्लाको गढिमाइ नगरपालिका–८ बरियारपुरमा निर्माण भएको एक धर्मशाला एक व्यक्तिले कव्जामा लिएका छन्। सरकारको करिब ४० लाख रुपैयाँ लागतमा निर्माण भएको सार्वजनिक धर्मशाला भवन निजी व्यक्तिको कब्जामा परेको हो। यसमा स्थानीय बासिन्दाले तीव्र विरोध गरेका छन्।
सार्वजनिक धर्मशाला भवन स्थानीय इस्लाम नट मियाँले कव्जामा लिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन्। भवनलाई तत्काल वडा कार्यालयको मातहतमा ल्याई सार्वजनिक प्रयोगका लागि खुला गर्न स्थानीयको माग रहेको छ। माग पूरा नभए कडा आन्दोलनमा जाने पत्रकार सम्मेलनमा जनाइएको छ। धर्मशाला निर्माणका लागि स्थानीय इस्लाम नट मियाँले जग्गा दान गर्ने प्रतिबद्धता जनाएका थिए।
तत्कालीन संघीय सांसद अनिल झाको पहलमा शहरी विकास तथा भवन निर्माण कार्यालय वीरगंजबाट पहिलो चरणमा १५ लाख रुपैयाँ बजेट धर्मशालामा भवन निर्माणमा विनियोजन गरिएको थियो।
सो बजेटमा धर्मशालाको आधारभूत संरचना बने पनि जग्गा वडा कार्यालयको नाममा नामसारी नगरी नटले आफ्नै नाममा कायमै राखेका छन्।
२०७९/८० आर्थिक वर्षमा तत्कालीन मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको पहलमा थप २५ लाख रुपैयाँ बजेट धर्मशालाको बाँकी कामका लागि विनियोजन भएको थियो।
निजी जग्गामै सरकारी रकम खर्च गरेर निर्माण कार्य गर्न खोजेपछि विवाद बढ्दै गएको थियो।
पूर्वाधार विकास कार्यालय गौरका इन्जिनियरहरूले निजी जग्गामा सार्वजनिक भवन निर्माण गर्न मानेनन्। नटले बाध्य भएर १० धुर क्षेत्रफलमध्ये पाँच धुर मात्र वडा कार्यालयको नाममा दान गरेका थिए।
बाँकी पाँच धुर जग्गा अझै पनि उनकै नाममा रहेको छ। उनले धर्मशालाको साँचो आफूसँगै राखेको स्थानीयको भनाइ छ।
नटले नेपाली कांग्रेसको आडमा धर्मशालालाई निजी सम्पत्तिजस्तो बनाएको स्थानीयको भनाई छ। उनले भवनमा कांग्रेसको कार्यक्रम मात्र गर्न दिन्छन्, अन्य पार्टीका मानिसहरूलाई प्रवेश नै रोक्ने गरेको स्थानीयको आरोप रहेको छ। भवन सार्वजनिक बनाउन माग गर्दा उल्टै नटले धम्की दिएको र प्रहरीमा उजुरी गरे पनि प्रहरीले कुनै कारबाही नगरेको स्थानीयको आरोप रहेको छ।
गढिमाइ नगरपालिका–८ का वडा अध्यक्ष बजरंगी प्रसाद यादवले कांग्रेसको बलमा सार्वजनिक धर्मशाला भवन कब्जा गरेर नटले राखेको र यो कानुन विपरीतको कार्य रहेको जनाउँछन्।
जग्गाधनी इस्लाम नट मियाले भने सबै आरोप अस्वीकार गरेका छन्।
धर्मशाला कब्जा नगरेको जनाउँदै भवन खुला छोड्दा फोहर, दुर्गन्ध र केही व्यक्तिहरूले त्यहाँ गाजा सेवन गर्ने समस्या रहेकोले संरक्षणको जिम्मा लिएर साँचो आफूसँग राखेको नटले जनाएका हुन्। उक्त धर्मशाला स्थानीय समुदायका धार्मिक, सामाजिक तथा पारिवारिक कार्यक्रमहरूका लागि निर्माण गरिएको हो।


