कोल्हबी : धिरेन्द्र पनुहर / बाराको बारागढी गाउँपालिका ५ चेरवन्त पथरामा ४ दिने श्री महाबिरी झण्डा मेला लाग्ने भएको छ। चेरवन्त भेगकै उत्कृष्ट बजार लगाउने र स्थानीय व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले यो मेलाको आयोजना गरेको मेला समितिका अध्यक्ष बिनोद सहनीले जानकारी दिए।
यो मेला पछि बारागढी ५ पथरा चौकमा हप्ताको दुई दिन बुधबार र शनिबार हाट बजार लाग्ने मेला व्यवस्थापक मुरारी प्रसाद चौधरीले बताए। मेला यही मंसिर १७ गतेदेखि २० गते सम्म रहने छ। १७ गते मेलाको उद्घाटन र रातमा बाराली थारु ग्रुपको प्रस्तुति रहने छ।
त्यस्तै १८ गते दिनमा र १८ गते रातमा ढाका पुर्वी चम्पारणको नाच पार्टी, १९ गते दिन र रातमा गडुडा नेपालको ख्याति प्राप्त नाच पार्टीको व्यवस्था गरिएको छ। २० गते दिनमा नेपाल र भारतको प्रसिद्ध पहलवालहरुको दङल कुस्तीको पनि आयोजना गरिएको मेला सचिव दिलिप चौधरीले बताए।
मेलाको आयोजना गर्न करिब चार लाख पचास हजार अनुमानित खर्च लाग्ने मेला समिति कोषाध्यक्ष भोजराज चौधरीले बताए। यो मेलामा मनोरञ्जनको लागि विभिन्न किसिमको खेल तामासा,झुला, रोटे पिङ, जम्पिङ प्याड, बाल उद्यानको व्यवस्था गरिएको छ।
यो मेला हेर्न बारागढी गाउँपालिका ,कोल्हबी नगरपालिका , आदर्शकोतवाल गाउँपालिका, छिमेकी जिल्ला रौतहटको फतुवा बिजयपुर नगरपालिकाका दर्शकहरु आउने छन्। मेलाको तयारी तिव्र गतिले भै रहेको समाचार प्राप्त भएको छ।

