भाथाधाम मेला जाने क्रममा ट्रयाक्टर दुर्घटना, बाराका किशोरको मृत्यु

साझेदारी डेलि
62 पाठक संख्या

बारा । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा जारी एकमहिने साउने मेलाका लागि सामान लिएर जाँदै गरेको ट्रयाक्टरबाट खसेर बाराका एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा विश्रामपुर गाउँपालिका–५ इटियाहीका १७ वर्षीय आकाश राम रहेका छन्। मंगलबार बिहान चारभैया पोस्ट नजिकै ट्रयाक्टरबाट खसेका रामलाई सोही ट्रयाक्टरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रयाक्टरमा चालक र मृतक किशोर मात्र सवार थिए। दुर्घटनापछि चालक ट्रयाक्टरसहित फरार भएका छन्।

घटनास्थल नजिकै सडकमा रगत देखेपछि श्रद्धालु तथा मेला समितिका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ। फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a review