बारामा एआईको प्रयोग सम्बन्धी एक दिने तालिम सम्पन्न

साझेदारी दैनिक
279 पाठक संख्या

कोल्हवी : आमसञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ बारा शाखाको समन्वयमा बारामा एआईको प्रयोग सम्बन्धी एक दिने तालिम आइतबार सम्पन्न भएको छ।

बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित रोजउड होटलको सभाहलमा उक्त तालीम भएको हो। आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा सो कार्यक्रम भएको हो। प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका हुन्।

पत्रकारितामा सूचना सत्य वा असत्य दुवैको ठूलो प्रभाव रहने उनले जनाए। समाचार लेख्नु अघि विषय, सन्दर्भ र सामाजिक प्रभावबारे गम्भीरतापूर्वक विचार गर्न उनले सुझाव दिए। उनले गलत कामलाई गलतकै रूपमा प्रस्तुत गर्न पत्रकारहरुलाई भने। ढाकछोप गर्ने शैलीबाट टाढा रहन उनले पत्रकारलाई आग्रह गरे।

अध्यक्ष खड्काले एआई प्रविधिको सही प्रयोग आवश्यक रहेको जनाए। उनले मधेश प्रदेशका आठै जिल्लामा एआईसम्बन्धी एक दिने तालिम सञ्चालन गरिएको जानकारी दिए।
तालिमका प्रशिक्षक अभ्यासकर्ता जीवन भण्डारीले एआईको सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी दिए। सञ्चार क्षेत्रमा यसको प्रभाव, अवसर, चुनौती तथा डिजिटल सुरक्षा उपायबारे विस्तृत जानकारी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीले एआईले गुणस्तरीय सामग्री निर्माणमा योगदान गरे पनि यस्को दुरुपयोगबाट बच्नुपर्नेमा उनले सुझाव दिए।

सो तालीममा एआईको प्रयोग, सञ्चार क्षेत्रमा यसको प्रभाव, अवसर, चुनौती तथा डिजिटल सुरक्षा उपाय,टुल्स,एआईबाट भिडियो,अडियो,समाचार कसरी उत्पन्न गर्नेबारे प्रशिक्षण प्रशिक्षक जीवन भण्डारीले दिएका थिए ।

स्वागत मन्तव्य महासंघ बाराका उपाध्यक्ष पनालाल दासको थियो। तालिममा ५० जना पत्रकार सहभागी थिए। कार्यक्रमको सहजीकरण आमसञ्चार प्राधिकरण जनकपुरधामको प्रशासकीय अधिकृत रन्जिता साहको थियो।

Leave a review