कलैया : लामो समयदेखि फरक धारमा क्रियाशील जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले अन्ततः औपचारिक एकता घोषणा गरेका छन्। राजधानीमा आइतबार आयोजित विशेष कार्यक्रममा दुवै दलले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात गरेका हुन्।
सहमति अनुसार एकीकृत दलको नाम ‘जनता समाजवादी पार्टी (जसपा) नेपाल’ रहनेछ। पार्टीको सर्वोच्च मर्यादामा महन्त ठाकुरलाई संरक्षक बनाइएका छन् भने कार्यकारी अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन्। साथै, पार्टी सञ्चालन र नीतिगत निर्णयका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गर्ने निर्णय भएको छ। यसअन्तर्गत ११ सदस्यीय सचिवालय पनि रहनेछ, जसले दैनिक कार्यसञ्चालन र रणनीतिक योजना तयार गर्नेछ।
विगतमा विचार र कार्यशैलीमा भिन्नताका कारण विभाजित भएका यी दुई मधेस केन्द्रित दलबीचको एकतालाई मधेसको राजनीतिमा शक्तिशाली ध्रुवीकरणको रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूको भनाइ अनुसार, निर्वाचनको मुखमा भएको यस एकताले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्नेछ।
एकीकृत पार्टीले मधेसका जनताको अधिकार, पहिचान, समावेशिता र विकाससँग सम्बन्धित मुद्दाहरू अब सामूहिक र सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, कार्यकर्ता र समर्थकहरूलाई संगठन सुदृढीकरण र जनसमर्थन विस्तारमा जुट्न आग्रह गरेको छ।
दुवै पार्टी एकताले मधेसका नेता तथा कार्यकर्ताहरुरमा खुसीयाली छाएको छ । एकताको खुसीयालीमा बाराको कलैयामा आईतवार कार्यकर्ताहरुले दिपप्रज्वलन गरेर खुसीयाली मनाएका छन।

