निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न प्रशासनको निर्देशन

संदिप प्रसाद यादव
96 पाठक संख्या

कलैया : मतदाताको गोपनीयता भंग हुने खालका गतिविधि सामाजिक सञ्जालमा भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले यस्ता कार्य नगर्न आग्रह गरेको छ। केही अनलाइन सञ्चार माध्यमहरूले मतदातासँग प्रत्यक्ष प्रश्न गर्दै गोप्य मतदानको अधिकार भंग गर्ने गतिविधि थालेपछि प्रशासनले ध्यानाकर्षण गराउँदै सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार गाउँ–घरमा गएर मतदातासँग “कुन दल, उम्मेदवार वा निर्वाचन चिन्हमा मतदान गर्नुहुन्छ ?” भन्ने जस्ता प्रश्न सोधेर मतदाताको गोपनीयता उल्लङ्घन गरिएको गुनासो प्राप्त भएको छ।

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदातासँग गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकाले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको प्रशासनले जनाएको छ। यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि चेतावनी दिइएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सोमबार जारी गरेको सूचनामा निर्वाचन आचारसंहिता, २०८२ को दफा ४(द) बमोजिम यस प्रकारको कार्य आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै कसैबाट यस्ता गतिविधि भएको पाइएमा कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

Leave a review