रौतहट–१ बाट रास्वपाका राजेश चौधरी भारी मतान्तरले विजयी, माधव चौथो स्थानमा

Om Prakash Yadav
248 पाठक संख्या

रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी भारी मतान्तरले विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेका छन्। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले ७ हजार ६६९ मत मात्र प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्।

यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादवले ६ हजार ८४६ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले न्यून मत प्राप्त गरेका छन्।

यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल यसपटक भने चौथो स्थानमा सीमित हुन पुगेका छन्। यस परिणामले रौतहट क्षेत्र नं. १ को राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ।

यस निर्वाचनमा रास्वपाका चौधरीले सुरुवातदेखि नै अग्रता कायम राख्दै अन्ततः भारी मतान्तरसहित जीत निकाल्न सफल भएका हुन्।

Leave a review

This will close in 0 seconds