निजगढमा हावाहुरीले मकै र केरावालीमा करोडौको क्षति, किसान चिन्तित

साझेदारी डेलि
264 पाठक संख्या

निजगढ : उमेश घलान/ सोमबार आएको हावाहुरीले बाराको निजगढ तथा आसपासका सिङ्गोल क्षेत्रका किसानलाई ठूलो मार परेको छ। तीव्र हावाहुरीका कारण मकै र केरावालीमा व्यापक क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन् ।

स्थानीयका अनुसार हावाहुरीले विशेषगरी केराखेतीमा ठूलो क्षति पु-याएको छ । सिङ्गोल क्षेत्रमा मात्रै करोडौं रुपैयाँ बराबरको केरावाली नष्ट भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारकर्मी बसन्त लामाका अनुसार उक्त क्षेत्रमा धेरैजसो खेती ऐलानी जग्गामा गरिएकाले किसानहरूले बाली बिमा गर्न पाएका छैनन्, जसले गर्दा क्षतिपूर्तिको विषय थप जटिल बनेको छ ।

“केरा खेतीमा मात्रै करोडौंको क्षति भएको छ,” लामाले भने, “ऐलानी जग्गामा खेती गरिएकाले बिमा नभएको हुँदा किसानहरू झन् मारमा परेका छन् ।”
त्यस्तैगरी निजगढ–६ की किसान देवाकी सापकोटाले करिब तीन बिघा जमिनमा लगाएको मकै पूर्णरूपमा नष्ट भएको बताइन् । उनका अनुसार हावाहुरीले मकैका बोट ढालेर सबै बाली सखाप पारेको छ । साथै उनले लगाएको केरावालीमा समेत क्षति पुगेको छ ।

“हावाहुरीले केही बाँकी राखेन,” सापकोटाले भनिन्, “मकै सबै ढल्यो, केरा पनि बिग्रियो । ठूलो नोक्सानी भयो ।” यसैगरी निजगढ–६ का अर्का किसान मोहन सापकोटाको पनि पिडा उस्तै छ । सापकोटाले एक विगाहामा लगाएको केरा खेती र करिब १६ कठामा लगाएको मकै बाली पनि सोमबारको हावाहुरीले नष्ट पारेको छ । झण्डै पाच लाख भन्दा बढि क्षति भएको किसान सापकोटाले पिडा सुनाए ।

यसैगरी सोही वडाका अन्य किसानहरु बाबुराम कोईराला,सागर विडारी,केदार थापा, जनक तिमल्सिना लगायतका किसानहरुको पनि केरा खेति हावाहुरीले नष्ट गरेको पिडित किसानहरुले बताएका छन । हावाहुरीपछि प्रभावित क्षेत्रमा किसानहरूले क्षतिको विवरण संकलन गरी स्थानीय तहमा बुझाउन थालेका छन् । किसानहरूले राहत तथा क्षतिपूर्तिको माग गर्दै नगरपालिकाले यथाशीघ्र पहल गर्ने अपेक्षा गरेका छन् ।

स्थानीय सरकारका प्रतिनिधिहरूले क्षतिको प्रारम्भिक विवरण संकलन सुरु भइसकेको जनाएका छन् । यद्यपि, वास्तविक क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने बताइएको छ । कृषिमा निर्भर किसानहरू यतिबेला राहतको आशामा बसेका छन् । निजगढ तथा सिङ्गोल क्षेत्रमा यसअघि पनि प्राकृतिक विपद्का कारण बालीमा क्षति पुग्दै आएको भए पनि यसपटकको हावाहुरीले ठूलो परिमाणमा असर पारेको स्थानीय बताउँछन् । यस प्राकृतिक विपत्तिले कृषिमा निर्भर किसानहरूको जीविकोपार्जनमा थप चुनौती सिर्जना गरेको छ ।

Leave a review