वीरगञ्ज । पर्सा जिल्लामा एक महिलामाथि भएको क्रूर घरेलु हिंसाको घटनाप्रति राष्ट्रिय महिला आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले पीडित हरिकला सहनीको निःशुल्क उपचारको व्यवस्था गर्न तथा घटनामा संलग्न आरोपीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको हो।
पर्सागढी नगरपालिका–३ बिरुवा टोल निवासी हरिकला सहनीमाथि उनका श्रीमान् विश्वनाथ सहनीले धारिलो हतियार प्रयोग गरी अमानवीय रूपमा आक्रमण गरेका थिए। गम्भीर घाइते सहनी हाल उपचाररत रहेकी छन्।
आयोगकी अध्यक्ष कमला कुमारी पराजुली नेतृत्वको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको अनुगमन तथा छलफल कार्यक्रममा यस्तो माग अघि सारेको हो। उक्त कार्यक्रममा आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडा पनि सहभागी थिइन्।
आयोगले पीडितलाई क्षतिपूर्ति सहित न्याय सुनिश्चित गर्न, उनका बालबालिकाको शिक्षा र संरक्षणको जिम्मेवारी लिन तथा पीडितको सुरक्षा र हेरचाहमा सम्बन्धित सबै निकायलाई सक्रिय हुन आग्रह गरेको छ। साथै, जिल्ला प्रहरी कार्यालय पर्सालाई आरोपीलाई अविलम्ब पक्राउ गर्न निर्देशन दिन पनि ध्यानाकर्षण गराइएको छ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, नारायणी अस्पताल वीरगञ्जका नर्सिङ अधिकृत हेना थापा, पर्सागढी नगरपालिकाकी अधिकृत शोभा मल्लिक लगायतको उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा आयोगको टोलीले बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीसँग भेटघाट गरेको थियो। उपचारको क्रममा उनको बाँया खुट्टा जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।
गत चैत १ गते राति सुतिरहेको अवस्थामा उनका श्रीमान्ले हातखुट्टा बाँधेर खुर्पाले खुट्टा काटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चैत ३ गते उपचारकै क्रममा उनको खुट्टा शरीरबाट अलग गरिएको थियो।
घटनाका मुख्य आरोपी विश्वनाथ सहनी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि प्रसाद बस्नेतले जानकारी दिएका छन्। पीडित सहनीका डेढ वर्ष र चार वर्षका दुई सन्तान रहेका छन्।


