जीतपुरसिमरा उपमहानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

रञ्जन यादव
69 पाठक संख्या

सिमरा । बालबालिकालाई खोपबाट जोगिन नदिने अभियानले बाराको जीतपुरसिमरामा अर्को उपलब्धि थपेको छ। वर्षौंदेखि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायले घर–घर पुगेर सञ्चालन गरेको खोप अभियानको परिणामस्वरूप जीतपुरसिमरा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित पालिकाका रूपमा घोषणा भएको छ।

उपमहानगरपालिका वडा नं. ५ बकुलियामा आयोजित कार्यक्रममा नगर प्रमुख राजन पौडेलले औपचारिक घोषणा गर्दै बाल स्वास्थ्य सुरक्षाको क्षेत्रमा उपमहानगरपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले यो सफलता कुनै एक निकायको प्रयासबाट नभई स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, स्वयंसेविका, अभिभावक तथा जनप्रतिनिधिको साझा प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्नुभयो।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकाले तोकिएको उमेरभित्र अनिवार्य रूपमा लगाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि मात्र स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने व्यवस्था छ। यही मापदण्ड पूरा गरेपछि जीतपुरसिमरा यो सूचीमा समावेश भएको हो।

उपमहानगरपालिकाभित्र रहेका २४ वटै वडामा सञ्चालन गरिएको घरधुरी सर्वेक्षणले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य शाखाले जनाएको छ। प्रत्येक वर्ष माघ र फागुन महिनामा स्वास्थ्यकर्मीहरू घर–घर पुगेर जन्मेदेखि २३ महिनासम्मका बालबालिकाको खोप अवस्थाबारे विवरण संकलन गर्छन्। सो क्रममा छुटेका बालबालिकाको पहिचान गरी उनीहरूलाई आवश्यक खोप उपलब्ध गराइन्छ।

जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भास्करका अनुसार “खोज र खोप” अभियान पूर्ण खोप सुनिश्चितताको प्रमुख आधार हो। सर्वेक्षण, अभिलेख प्रमाणीकरण, छुट बालबालिकाको पहिचान र पुनः खोप सेवाको व्यवस्थापनमार्फत कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुँदै आएको छ।

खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, निमोनिया लगायत विभिन्न संक्रामक रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। यही कारण खोपलाई बाल स्वास्थ्य सुरक्षाको सबैभन्दा प्रभावकारी र कम लागतको उपाय मानिन्छ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रतिनिधि भागिरथ चौधरी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले पूर्ण खोप सुनिश्चितताको उपलब्धिलाई कायम राख्दै आगामी वर्षहरूमा समेत शतप्रतिशत खोप पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

स्वास्थ्य कार्यालयको वार्षिक कार्ययोजनाअनुसार माघ–फागुनमा घरधुरी सर्वेक्षण, वैशाखसम्म छुट खोप अभियान तथा जेठ महिनामा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने प्रक्रिया सञ्चालन हुँदै आएको छ। पूर्ण खोप सुनिश्चित पालिका घोषणा केवल एउटा औपचारिक उपलब्धि मात्र नभई बालबालिकाको स्वस्थ भविष्यप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक भएको सरोकारवालाहरूको भनाइ छ।

Leave a review

This will close in 0 seconds