जीतपुर मैदानमा क्रिकेटको रौनक, पाँच टोलीबीच उपाधि प्रतिस्पर्धा

रञ्जन यादव
85 पाठक संख्या

सिमरा । जीतपुरसिमरा क्षेत्रमा क्रिकेट खेललाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ जीतपुर क्रिकेट लिग (जेसीएल) सिजन–१ आयोजना गरिने भएको छ। स्थानीय युवामा खेलप्रतिको आकर्षण बढाउनुका साथै उनीहरूभित्र लुकेका प्रतिभालाई उजागर गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

शान्ति युवा विकास मञ्च, जीतपुर को आयोजनामा हुने प्रतियोगिता आगामी असार ६ गतेदेखि शान्ति टोल खेल मैदान मा सुरु हुनेछ। आयोजकका अनुसार लिगमा सहभागी टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने मात्र नभई स्थानीय क्रिकेटको भविष्य निर्माणमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा जीतपुर टाइगर्स, जीतपुर थन्डर, रिफात फार्मेसी, जीतपुर स्टार्स र जीतपुर किङ्स गरी पाँच टोलीको सहभागिता रहनेछ। क्षेत्रीय स्तरमा क्रिकेट गतिविधि बढ्दै गएको अवस्थामा युवालाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्न लिग प्रभावकारी माध्यम बन्ने विश्वास आयोजकको छ।

लिगको मुख्य प्रायोजन स्वस्तिक ट्रेड एण्ड कन्सर्न (टीभीएस) ले गरेको छ। यसबाहेक स्थानीय व्यवसायी, खेलप्रेमी तथा विभिन्न संघ–संस्थाहरूको सहयोगमा प्रतियोगिताको व्यवस्थापन गरिएको जनाइएको छ।

आयोजकले जेसीएललाई केवल खेल प्रतियोगिताका रूपमा नभई सामाजिक अभियानका रूपमा समेत लिएको बताएको छ। युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने, अनुशासन र टिम भावना विकास गर्ने तथा खेलकुद संस्कृतिलाई बलियो बनाउने उद्देश्य प्रतियोगिताले बोकेको आयोजकको भनाइ छ।

मञ्चले खेलप्रेमी, अभिभावक, शुभेच्छुक तथा स्थानीय बासिन्दालाई मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साह बढाउन आग्रह गरेको छ। पहिलो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगिताले जीतपुर क्षेत्रमा क्रिकेटप्रतिको बढ्दो मोहलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds