कलैया । बाराको कलैया उपमहानगरपालिकाले वडा नम्बर-५ घुसुकपुरस्थित श्री पन्ना देवी कन्या माध्यमिक विद्यालयको सम्पत्ति व्यवस्थापन तथा आम्दानीको अवस्थाबारे छानबिन प्रक्रिया अगाडि बढाएको छ। विद्यालयको स्वामित्वमा रहेका सटर तथा जग्गाबाट प्राप्त हुने आम्दानी सम्बन्धी विवरण सार्वजनिक चासोको विषय बनेपछि उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालय प्रशासनलाई आवश्यक कागजात पेश गर्न निर्देशन दिएको हो।
शाखाले असार ३ गते विद्यालयलाई पठाएको पत्रमार्फत विद्यालयको नाममा रहेका सटर कोठाको संख्या, ती सटरबाट मासिक रूपमा उठ्ने भाडा रकम, भाडामा प्रयोग गरिरहेका व्यक्तिहरूको विवरण तथा भाडा सम्झौतासम्बन्धी अभिलेख उपलब्ध गराउन भनेको छ। साथै विद्यालयको स्वामित्वमा रहेको जग्गाको क्षेत्रफल, अवस्थिति र उपयोगको अवस्थाबारे पनि जानकारी मागिएको छ।
शिक्षा शाखाले विशेष रूपमा विद्यालयको जग्गा कसरी र कुन आधारमा हुण्डामा लगाइएको हो भन्ने विषयमा स्पष्ट विवरण दिन आग्रह गरेको छ। पत्रमा आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ सम्म जग्गा तथा अन्य सम्पत्तिबाट प्राप्त आम्दानी, खर्च र सम्बन्धित आर्थिक अभिलेख समेत सात दिनभित्र पेश गर्न भनिएको छ।
उपमहानगरपालिकाका स्रोतका अनुसार विद्यालयको सम्पत्तिबाट हुने आयको व्यवस्थापन र त्यसको पारदर्शिताबारे विभिन्न तहबाट प्रश्न उठ्न थालेपछि आवश्यक तथ्य संकलनका लागि यो प्रक्रिया थालिएको हो। प्राप्त विवरणको अध्ययनपछि आवश्यक भए थप अनुसन्धान तथा अनुगमनसमेत गरिने जनाइएको छ।
केही दिनअघि साझेदारी राष्ट्रिय दैनिकले विद्यालयको स्वामित्वमा रहेको खेत तथा सटरबाट हुने आम्दानी, त्यसको खर्च व्यवस्थापन र बक्यौता सम्बन्धी विषयलाई प्रमुखताका साथ प्रकाशन गरेको थियो। उक्त समाचारपछि स्थानीय स्तरमा विद्यालयको आर्थिक गतिविधिबारे चर्चा बढेको थियो।
शिक्षा शाखाको पछिल्लो कदमलाई विद्यालयको सम्पत्ति व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्ने प्रयासका रूपमा हेरिएको छ। अब विद्यालयले पेश गर्ने विवरणले उठेका जिज्ञासा र विवादबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।


