कलैया । कृषि,शिक्षा, खेलकुद, स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै बाराको पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न नगरपालिकाको १६ औँ नगरसभामा उपप्रमुख नसिमा खातुनले बजेटको ब्याग नगर प्रवक्ता लक्ष्मीप्रसाद यादवलाई हस्तान्तरण गरेपछि प्रवक्ता यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड १५ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २१ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान ५५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ १० करोड १८ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७६ लाख २१ हजार रुपैयाँ, सशर्त अनुदान ९५ लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगरपालिकाले आन्तरिक आयबाट ५ करोड रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट ३ करोड रुपैयाँ र बैंक आल्यबाट ६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगर प्रमुख जलन्धर सिंह जैसवारको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख नसिमा खातुन, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्य, कर्मचारी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीले व्यक्त गरेका थिए।


