५० प्रतिशत अनुदानमा दुग्ध संकलनका लागि क्यान र मिल्क क्यान वितरण

साझेदारी डेलि
69 पाठक संख्या

रामनगर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगरमा रहेको श्री पंचामृत दुग्ध उत्पादक सहकारी संस्था र संस्थामा आवद्ध किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण एक कार्यक्रमवीच वितरण गरिएको छ।

गाईभैंसी जोन कार्यक्रमअन्तर्गत आयोजना गरिएको कृषि उपकरण वितरण कार्यक्रममार्फत सहकारीमा आबद्ध किसानलाई काउ क्याट तथा सहकारीलाई स्टिल मिल्क क्यान वितरण गरिएको हो। उक्त सामाग्रीहरु राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम ईकाइ बाराको ५० प्रतिशत अनुदान सहयोगमा वितरण गरिएको हो ।

बिहिवार आयोजित वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गांतानले १० थान स्टिल मिल्क क्यान हस्तान्तणर गर्नुभएको थियो । यसै गरि सोही अवसरमा वडा अध्यक्ष गांतान र आधुनिकीकरण कार्यक्रमका राकेशकुमार यादवले संयुक्त रुपमा सहकारीमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा ५० थान काउम्याट वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै वडाअध्यक्ष गांतानले दुग्ध उत्पादन र संकलनलाई थप व्यवस्थित बनाउन यस्ता उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । उनले किसानलाई प्रदान गरिएका सामग्रीको सदुपयोग गरी दुग्ध व्यवसायलाई अझ व्यावसायिक र उत्पादनमुखी बनाउन आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कृषि आधुनिकीकरणका राकेश यादवले किसानलाई दूध संकलन, भण्डारण तथा ढुवानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले आवश्यक उपकरण उपलब्ध गराइएको बताए । सहकारीमार्फत वितरण गरिएका यी सामाग्रीहरुको सहयोगले दूधको गुणस्तर संरक्षणमा सहयोग पुग्ने यादवले विश्वास लिइएको छन ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष चुडाहरी अधिकारीले अनुदानमा उपलब्ध गराइएका उपकरणले स्थानीय दुग्ध उत्पादक किसानको लागत घट्नुका साथै उत्पादन व्यवस्थापनमा सहजता ल्याउन मदत पुग्ने बताएका छन ।

Leave a review

This will close in 0 seconds