कलैया । बारा जिल्लाका १६ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न गर्दै सबै पालिकाले आगामी वर्षको विकास र सेवा प्रवाहको मार्गचित्र प्रस्तुत गरेका हुन्।
जिल्लाका दुई उपमहानगरपालिकामध्ये जीतपुरसिमरा उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ। उपमहानगरले आगामी वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको छ भने कलैया उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकातर्फ निजगढ नगरपालिकाले १ अर्ब १० करोड रुपैयाँको बजेट ल्याउँदै जिल्लाका नगरपालिकामध्ये अग्रस्थान कायम गरेको छ। महागढीमाई नगरपालिकाले ७२ करोड ८२ लाख ३५ हजार रुपैयाँ, कोल्हवी नगरपालिकाले ७१ करोड ६६ लाख १९ हजार रुपैयाँ, सिम्रौनगढ नगरपालिकाले ६१ करोड ६३ लाख ८० हजार रुपैयाँ तथा पचरौता नगरपालिकाले ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
गाउँपालिकाहरूमा करैयामाई गाउँपालिकाको बजेट ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ रहेको छ। सुवर्ण गाउँपालिकाले ४३ करोड २६ लाख ७९ हजार रुपैयाँ, आदर्शकोतवाल गाउँपालिकाले ४१ करोड ३३ लाख ६३ हजार रुपैयाँ र प्रसौनी गाउँपालिकाले ४१ करोड ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
त्यसैगरी देवताल गाउँपालिकाले ३९ करोड ७० लाख ३१ हजार रुपैयाँ, बारागढी गाउँपालिकाले ३९ करोड ७७ लाख ६५ हजार रुपैयाँ, फेटा गाउँपालिकाले ३९ करोड १६ लाख ९७ हजार रुपैयाँ, परवानीपुर गाउँपालिकाले ३६ करोड ६३ लाख १० हजार रुपैयाँ तथा विश्रामपुर गाउँपालिकाले ३५ करोड ५१ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
पालिकाहरूले सार्वजनिक गरेका नीति तथा कार्यक्रमहरूमा कृषि आधुनिकीकरण, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, सडक तथा पूर्वाधार निर्माण, रोजगारी अभिवृद्धि, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। स्थानीय आवश्यकतालाई आधार बनाएर विकासका योजना कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको सम्बन्धित पालिकाहरूले बताएका छन्।


