कोल्हबी । बिनिता चौधरी / भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूका लागि राहत संकलन गर्ने उद्देश्यले कोल्हबी नगर उद्योग वाणिज्य संघको पहलमा बिहीबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकले १५ सदस्यीय राहत संकलन समिति गठन गरेको छ।
कोल्हबी नगर उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न उक्त बैठकमा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मीकुमारी चौधरीको विशेष उपस्थिति थियो। बैठकमा कोल्हवीका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,रास्वापा कोल्हवी नगर कमिटीका उपसभापति जितन प्रसाद चौधरी, व्यापारी, सहकारीकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो। बैठकले बाढी प्रभावित तथा पीडित परिवारहरूलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन नगर क्षेत्रमा व्यापक रूपमा सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
राहत संकलन समितिको संयोजकमा कोल्हबी नगर उद्योग वाणिज्य संघका तर्फबाट रामप्रसाद प्रसाई चयन भएका छन्। त्यसैगरी समितिका सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट भुवन चौधरी, नेकपाका तर्फबाट रामचन्द्र साफी, नेपाली कांग्रेसका तर्फबाट बिरेन्द्र चौधरी, नेकपा एमालेका तर्फबाट पुरनदेव चौधरी, ब्लोदानका तर्फबाट रामकुमार उप्रेती, सहकारी क्षेत्रका तर्फबाट पारसनाथ चौधरी, थारु कल्याणकारी सभा (थाकस ) तर्फबाट रामनाथ चौधरी, पत्रकार क्षेत्रका तर्फबाट धिरेन्द्र पनुहर तथा महिला प्रतिनिधिका रूपमा प्रेमकुमारी चौधरी लगायतको चयन भएका छन्।
बैठकमा सहभागीहरूले प्राकृतिक विपद्का कारण पीडामा परेका नागरिकहरूको सहयोगका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। राहत संकलन अभियानलाई प्रभावकारी बनाउन राजनीतिक दल, व्यापारी, सामाजिक संघसंस्था, सहकारी, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकसँग सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरिएको छ। समितिले संकलित राहत सामग्री तथा आर्थिक सहयोगलाई पारदर्शी ढंगले व्यवस्थापन गरी वास्तविक बाढीपीडितसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ। कोल्हबी नगर क्षेत्रबाट मानवीय सहयोग जुटाएर विपदमा परेका नागरिकहरूलाई राहत प्रदान गर्ने उद्देश्यका साथ अभियान अगाडि बढाइने बताइएको छ।
बैठकमा उपस्थित जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले विपद्को यस घडीमा राजनीतिक र सामाजिक भिन्नताभन्दा माथि उठेर मानवीय सेवामा एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए। राहत संकलन अभियानमा सबै नगरवासीलाई आफ्नो क्षमता अनुसार सहयोग गर्नसमेत आग्रह गरिएको छ।बैठकको सहजीकरण कोल्हबी नगर उधोग बाणिज्य संघका उपाध्यक्ष प्रेमनारायण चौधरीले गरेका थिए।


