पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

साझेदारी डेलि
138 पाठक संख्या

बारा । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ करिब ६ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर –१० आदर्शनगरस्थित विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।

प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो रंगको सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो रंगको एफजेड मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार जिल्लाको सितामढी थाना डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनीमा बस्ने ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ४००५ थान अर्थात् ४० लाख ५ हजार रुपैयाँ, पाँच सय रुपैयाँ दरका २३५३ थान अर्थात् ११ लाख ७६ हजार ५०० रुपैयाँ, एक सय रुपैयाँ दरका ६४३ थान अर्थात् ६४ हजार ३०० रुपैयाँ र ५० रुपैयाँ दरका ८४ थान अर्थात् ४ हजार २०० रुपैयाँ बरामद भएको छ। यसरी बरामद नगदको कुल रकम ५२ लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता मल्लले जानकारी दिएका छन् ।

Leave a review