पर्सामा एक सय पाँच किलो गाँजासहित भारतीय नागरिक पक्राउ

रासस
38 पाठक संख्या

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका–३ सोनबर्षाबाट प्रहरीले १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोनबर्षास्थित सडकछेउको बारीमा शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका एक व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारत वेतिया जिल्ला, ग्राम उजहरु परजिलवा, भांगाहा श्रीनगर–३ बस्ने ५० वर्षीय सउरू चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार चौधरीले बोकेको बोराभित्र लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकबाहेक एक सय पाँच किलो लागुऔषध गाँजा बरामद भएको हो। पक्राउ परेका चौधरीलाई लागूऔषध गाजासहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता मल्लले जानकारी दिए ।

Leave a review