सिमरा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंश उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सकिएपछि बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको छ। औषधि नपाएपछि जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाका शेरबहादुर श्रेष्ठलाई थप उपचारका लागि हेटौंडा लगिएको छ।
सर्पले टोकेलगत्तै उपचारका लागि नारायणी अस्पताल पुगेका श्रेष्ठका परिवारले आकस्मिक कक्षमा पुगेपछि मात्रै अस्पतालमा एन्टिस्नेक भेनम उपलब्ध नरहेको थाहा पाएको बताएका छन्। औषधि तत्काल नपाउँदा उपचारमा ढिलाइ हुने चिन्ताले बिरामीका आफन्त तनावमा परेका थिए।
श्रेष्ठका सालो कमल श्रेष्ठका अनुसार अस्पतालमै उपचार हुने अपेक्षासहित बिरामी ल्याइए पनि औषधि अभाव भएपछि हेटौंडा लैजानुपरेको हो। समयमै उपचार नपाइने अवस्था आउन सक्ने भन्दै परिवारले चिन्ता व्यक्त गरेको उनले बताए।
नारायणी अस्पतालका प्रशासन प्रमुख सुशील यादवले सोमबारदेखि नै एन्टिस्नेक भेनमको मौज्दात सकिएको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारमार्फत चितवनबाट बुधबारसम्म औषधि आउने जानकारी अस्पतालले पाएको छ।
वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्दा अस्पतालमा औषधिको खपतसमेत बढेको प्रशासनको भनाइ छ। हाल नारायणी अस्पतालमा दैनिक आठदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।
विशेषगरी विषालु सर्पको टोकाइमा एक जना बिरामीलाई २० देखि २२ भायलसम्म एन्टिस्नेक भेनम आवश्यक पर्ने भएकाले मौज्दात चाँडै सकिने गरेको प्रशासन प्रमुख यादवले बताए। पर्साका अन्य स्वास्थ्य संस्थामा समेत औषधिको अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ।
एन्टिस्नेक भेनमको आपूर्ति सहज बनाउन प्रदेश आपूर्ति शाखा तथा सम्बन्धित केन्द्रीय निकायमा पत्राचार गरिएको अस्पतालले जनाएको छ। अस्पताल परिसरमा औषधि अभावबारे सूचना राखिएको प्रशासनको दाबी छ। तर सेवाग्राहीले भने अस्पताल पुगेपछि मात्र औषधि नभएको जानकारी पाउने गरेको गुनासो गरेका छन्।
यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नारायणी अस्पतालमा तत्काल एन्टिस्नेक भेनम उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
वर्षायाममा तराई–मधेसका क्षेत्रमा सर्पदंशको जोखिम बढ्ने समयमा प्रदेशकै प्रमुख सरकारी अस्पतालमा जीवनरक्षक औषधि अभाव हुनुले उपचार व्यवस्थामाथि प्रश्न उठाएको छ। बिरामीलाई उपचारकै लागि अर्को शहर धाउनुपर्ने अवस्था अन्त्य गर्न नियमित र पर्याप्त औषधि आपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।


