बाराका युवा गायक प्रमोद जख्मीको ‘बरसात के मजा ल’ गीत सार्वजनिक

साझेदारी डेलि
172 पाठक संख्या

सिमरा । भोजपुरी सांगीतिक क्षेत्रमा सक्रिय बाराका युवा गायक प्रमोद जख्मीले नयाँ गीतमार्फत वर्षाको मौसमलाई सांगीतिक विषय बनाएका छन्। उनको स्वरमा गायिका शिल्पी राज जोडिएको ‘बरसात के मजा ल’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो।

अटुट म्युजिक प्रालिको प्रस्तुतिमा तयार भएको गीतमा सोनु सरगमले शब्द लेखेका छन्। चमन सिंहको संगीत संयोजन रहेको गीतको रेकर्डिङदेखि मिक्सिङसम्मको काम अटुट म्युजिक स्टुडियोमा गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियोमा जख्मी र मोडल अम्बिका तिवारीले अभिनयसँगै नृत्य गरेका छन्। पर्साको इन्दु झाबराह जंगल सफारी रिसोर्ट तथा अटुट म्युजिक स्टुडियोलाई छायांकनस्थल बनाइएको भिडियोको निर्देशन नवीन नेपालीले गरेका हुन्।

डीप्लस डान्स एकेडेमीले नृत्य निर्देशन गरेको भिडियोमा निखिल सन्तोषको छायांकन र मनिष ठाकुरको सम्पादन रहेको छ। भिडियोको कलर ग्रेडिङ दिल्लीका रोहित सिंहले गरेका छन्।

अमेरिकामा रहेका रमेश यादवले निर्माण गरेको गीतको व्यवस्थापन मलेसियामा रहेका बलिराम बेदर्दीले गरेका हुन्। वर्षाको मौसमसँग सम्बन्धित विषयवस्तु र मनोरञ्जनात्मक प्रस्तुतिलाई गीतमा समेटिएकाले दर्शक–श्रोताले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ।

सार्वजनिक भएको छोटो समयमै गीतको भिडियोले युट्युबमा १५ हजारभन्दा बढी भ्युज पाएको जनाइएको छ। निर्माण पक्षका अनुसार सामाजिक सञ्जाल टिकटकमा समेत गीतको भिडियो तथा यसका अंश प्रयोग गर्ने क्रम बढिरहेको गायक जख्मीले बताएका छन ।

Leave a review