सूचनाको हक प्रभावकारी कार्यान्वयन गर्न महासंघको आग्रह

साझेदारी डेलि
48 पाठक संख्या

बारा । सूचनाको हकका लागि राष्ट्रिय महासंघले नागरिकको सूचनामा सहज पहुँच सुनिश्चित गर्न सार्वजनिक निकायलाई आग्रह गरेको छ।

राष्ट्रिय सूचना दिवस २०८३ का अवसरमा महासंघले ‘सूचनाको अधिकार, सुशासन र जवाफदेहिताको आधार’ भन्ने नारासहित अपिल जारी गर्दै सूचनाको हकलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।

महासंघका अध्यक्ष उमिद बागचन्दद्वारा जारी अपिलमा संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नागरिकलाई सार्वजनिक महत्वका सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन अझै सन्तोषजनक नरहेको उल्लेख छ।

महासंघका अनुसार सार्वजनिक निकायमा सूचना अधिकारी तोकिए पनि सूचना स्वतः प्रकाशन गर्ने अभ्यास कमजोर छ। सूचना माग्दा ढिलाइ गर्ने, सूचना दिनबाट पन्छिने तथा सूचना माग्ने नागरिकलाई निरुत्साहित गर्ने प्रवृत्तिसमेत कायमै रहेको महासंघले जनाएको छ।

डिजिटल युगमा आधिकारिक र तथ्यमा आधारित सूचना समयमै उपलब्ध हुनुपर्ने भन्दै महासंघले सरकारी निकायबाट सूचना प्रवाह प्रभावकारी नहुँदा अफवाह, भ्रम र गलत सूचना फैलिने जोखिम बढ्ने जनाएको छ।

महासंघले सूचनाको हकलाई सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक जवाफदेहिताको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ। साथै, पत्रकार तथा सञ्चारकर्मीलाई सार्वजनिक निकायबाट सूचना प्राप्त गर्न सहज वातावरण बनाउन आग्रह गरेको छ।

महासंघले ‘सूचना दिनु उपकार होइन, कानुनी र संवैधानिक दायित्व हो’ भन्ने संस्कार सार्वजनिक निकायमा विकास गर्नुपर्ने जनाएको छ। राष्ट्रिय सूचना दिवसलाई औपचारिकतामा सीमित नगरी नागरिकको सूचनामा पहुँच र सार्वजनिक निकायको पारदर्शिताबारे समीक्षा गर्ने अवसरका रूपमा लिनसमेत महासंघले आग्रह गरेको छ।

Leave a review