राष्ट्रियसभाः बालिका बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग

रासस
79 पाठक संख्या
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा शुक्रबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः किरणराज विष्ट÷रासस राष्ट्रियसभा बैठक काठमाडौँ, ५ भदौः

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद पूजा चौधरीले बालिकाको हत्या घटनामा संलग्नलाई कारबाही गर्दै बालबालिका तथा महिलामाथिको हिंसा रोक्न र बालिकाको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसद रेणु चन्दले बालिका हराएको उजुरीप्रति गम्भीर नभएको भन्दै सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हत्या घटनाका दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसद विष्णुदेवी पुडासैनीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा सजाय दिन माग गर्नुभयो ।

सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा मृत्यु भएका पर्वतका नारायण सार्कीको शव तत्काल नेपाल ल्याउन तथा परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद रुक्मिणी कोइरालाले नयाँ बजेट र कार्यक्रमको प्रभाव जनताको दैनिकीमा देखिनुपर्ने बताउँदै कृषकले उचित मूल्य पाउने, महिलाको सुरक्षा हुने र युवालाई रोजगारीको व्यवस्था हुने गरी काम गर्न सुझाव दिनुभयो ।

यस्तै शून्य समयमा सांसदहरुले बाढी पहिरोबाट बिस्थापितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद कृष्णबहादुर रोकायाले रोल्पा र बाजुरामा बाढी तथा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै विस्थापितको उद्धार, राहत तथा जोखिमयुक्त बस्तीको क्षति मूल्याङ्कन गरी राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद घनश्याम रिजालले दीपा नेपालीको सत्याग्रह तथा ‘कोठा खाली छ सरकार’ नारासहित भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समस्या समाधान गर्न सुझाब प्रस्तुत गर्नुभयो ।

सांसद पदमबहादुर परियारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा उहाँलाई सहिद घोषणा गर्न माग गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरुको स्वकीय सचिवालयमा कर्मचारीको सङ्ख्या बढाइएकोप्रति असन्तुष्टि जनाउँदै कटौती गर्न माग गर्नुभयो । राष्ट्रियसभाको बैठक जारी छ ।

Leave a review