गरिमा चौधरी हत्या प्रकरण : कलैयामा शान्तिपूर्ण प्रदर्शनसँगै दीप प्रज्वलन

साझेदारी डेलि
23 पाठक संख्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा कलैयाको भरत चोकमा शान्तिपूर्ण प्रदर्शनसँगै दीप प्रज्वलन गरिएको छ।

गरिमालाई न्याय दिलाउन र घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै गैरसरकारी संस्था महासंघको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा संरक्षण नेपाल, न्यू फ्रेन्ड क्लब, उज्यालो नेपाल, आदिशक्ति समाज सेवा क्लब, ग्रामीण गरिबी निवारण केन्द्र, हाम्रो प्रयास, सखी, जनजागरण युवा क्लब, आरआरएफ, डीसीडीईयूसी, सीडब्लूएसीलगायत विभिन्न संघसंस्थाले सहकार्य गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले गरिमा हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानुनी सजाय दिनुपर्ने माग गरेका थिए। साथै पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो।

‘गरिमाका लागि न्याय, दोषीलाई कडा सजाय’ भन्ने नारासहित भएको कार्यक्रम गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा समाजसेवी रामचन्द्र चौधरी, नेहा गिरी, पारस जायसवाललगायतले गरिमा हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए।

Leave a review