सिमरा । बाराको सिमरास्थित नव निर्मित जीतपुरसिमरा नगर अस्पताल अपाङ्गमैत्री मापदण्डअनुसार निर्माण नभएको भन्दै अपाङ्गता अधिकारकर्मीहरूले तत्काल सुधार गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्।
अस्पताल भवनको अवलोकनपछि अपाङ्गता भएका व्यक्तिहरूले हाल जडान गरिएका डट्स एण्ड लाइन टायल, शौचालय, टिकट काउन्टर तथा अन्य सेवा केन्द्रहरू अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि पर्याप्त रूपमा अनुकूल नभएको बताएका छन्।
नेपाल अपाङ्ग सेवा संघ बाराका निवर्तमान अध्यक्ष गंगाप्रसाद वाग्लेले नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीसमक्ष अस्पताललाई पूर्ण रूपमा पहुँचयुक्त बनाउन माग गरेका छन्। अस्पतालजस्तो संवेदनशील सार्वजनिक संस्थामा दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका सेवाग्राहीको सहज आवागमन र सेवा प्राप्ति सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो।
वाग्लेले ह्वीलचेयर प्रयोगकर्ताका लागि सहज र्याम्प, पहुँचयुक्त शौचालय, स्पष्ट संकेत चिन्ह, रेलिङ, लिफ्ट तथा सेवा कक्षसम्म सहज पहुँचको व्यवस्था गर्न आग्रह गरे। कार्यक्रममा नेपाल अपाङ्ग सेवा संघ बाराकी अध्यक्ष शोभा लामाले निर्माणाधीन तथा आगामी दिनमा बन्ने सबै सार्वजनिक संरचनामा अपाङ्गमैत्री मापदण्ड अनिवार्य लागू गर्नुपर्ने बताइन्। उनले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन तथा पहुँचयुक्त भौतिक संरचना निर्माणसम्बन्धी राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय सरकारसँग माग गरिन्।
अपाङ्ग अगुवाहरूको सुझावपछि नगर प्रमुख राजन पौडेलले पूर्वाधार शाखाका कर्मचारीलाई तत्काल आवश्यक सुधार प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। उनले नगर अस्पताललाई सबै नागरिकका लागि समान रूपमा पहुँचयोग्य र सेवामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै देखिएका कमजोरीहरू छिट्टै सुधार गरिने बताए। उपप्रमुख भोला प्रसाद अधिकारीले पनि अस्पताल सञ्चालनअघि आवश्यक संरचनागत सुधार पूरा गरिने आश्वासन दिएका छन्।
अस्पताल सञ्चालनको अन्तिम तयारी भइरहेका बेला अपाङ्गमैत्री पूर्वाधारको विषय उठेपछि अस्पताललाई समावेशी र पहुँचयुक्त स्वास्थ्य संस्था बनाउने विषयमा सरोकारवालाहरूबीच थप समन्वय र छलफल आवश्यक रहेको बताइएको छ। अपाङ्गता अधिकारकर्मीहरूले अस्पताल पूर्ण रूपमा पहुँचयुक्त बनेपछि मात्रै सबै नागरिकले समान रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।


