बारामा बाँसबाट लडेर घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु

साझेदारी डेलि
135 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–१२ शीतलपुरमा बाँसबाट लडेर गम्भीर घाइते भएकी १५ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शीतलपुरमा बस्ने राजेन्द्र मण्डलकी १५ वर्षीया छोरी अञ्जली कुमारी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो अञ्जली गाईवस्तुका लागि आहार जुटाउन बाँसको पात टिप्न गएकी थिइन्। सो क्रममा बाँसबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन्।

घाइते अञ्जलीको प्रारम्भमा प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको थियो। अवस्था गम्भीर भएपछि सोही दिन राति थप उपचारका लागि नारायणी मेडिकल कलेज (एनएमसी) वीरगन्ज लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थल तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो। भदौ १६ गते वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट प्रहरी निरीक्षक नबिन थापा मगरको कमाण्डमा सोको सहितको टोली खटिई मुचुल्का उठाएर शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो।

सूचना अधिकारी घलेका अनुसार शव परीक्षणपछि सोही दिन दिउँसो मृतकका दाइ राजाबाबु मण्डलले शव बुझी लगेका छन्।

Leave a review