पर्सामा ब्राउन सुगरसहित दुई जना पक्राउ

साझेदारी डेलि
58 पाठक संख्या

वीरगञ्ज । पर्सामा १५४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र ११ ग्राम ५९ मिलिग्राम अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन्।

प्रहरी टोलीले मंगलवार साँझ करिब ७ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित चालीस फिट्टे सडकखण्डमा भारतको बिआर ०५ बिएल१६८० नम्बरको कालो–रातो रंगको टिभिएस अपाचे मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूले लगाएको पाइन्टको खल्तीमा लुकाइछिपाइ राखेको १५४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको थियो।

प्रहरीले पक्राउ परेका सन्तोष प्रसाद पटेलको घरमा खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइछिपाइ राखेको ११ ग्राम ५९ मिलिग्राम अफिम जस्तो देखिने पदार्थ तथा लागूऔषध प्याकिङ गर्ने प्लास्टिकसमेत बरामद गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार बरामद पदार्थ तथा मोटरसाइकल नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a review