कलैयामा विद्यालयस्तरबाटै ट्राफिक सचेतना अभियान सुरु

साझेदारी डेलि
44 पाठक संख्या

कलैया । बारा जिल्लामा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको मातहतमा रहेका अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले विद्यालयस्तरबाटै ट्राफिक सचेतना अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रिन्सानन्द यादव नेतृत्वको टोलीले मंगलवार बाराको कलैया उपमहानगरपालिका –१४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय भौरा र श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय बघवनमा पुगेर विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा तथा सुरक्षित यात्राका विषयमा सचेत गराउन थालेको हो।

विद्यालयमा आयोजित सचेतना कार्यक्रममा विद्यार्थीलाई सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, तीव्र गतिमा सवारी चलाउँदा हुने जोखिम, जथाभावी सडक प्रयोग गर्दा निम्तिन सक्ने दुर्घटना तथा ट्राफिक नियम पालना गर्नुपर्ने आवश्यकताबारे कलैयाका ट्राफिक प्रहरी सहायक निरीक्षक यादवले प्रशिक्षण दिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको अढाई महिनामै बारामा १ सय ६४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २ सय ५३ जना घाइते भएका छन्। दुर्घटनाको यो तथ्यांकले जिल्लामा सडक सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको देखाएको छ।

दुर्घटना न्यूनीकरणका लागि सडकमा ट्राफिक नियम लागू गर्नुका साथै नागरिकको व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको उनको बताए । त्यसैलाई ध्यानमा राख्दै विद्यालय तहबाटै विद्यार्थीलाई सडक सुरक्षा सम्बन्धी ज्ञान, अनुशासन र जिम्मेवार सडक व्यवहार सिकाउने अभियान अघि बढाइएको हो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख यादवले विद्यार्थीहरू स्वयं सडक प्रयोगकर्ता भएकाले उनीहरूलाई समयमै सचेत गराउन सके दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्न सकिने बताए। विद्यालयबाट सुरु गरिएको सचेतना अभियानले विद्यार्थी हुँदै अभिभावक र समुदायसम्म ‘सडक सुरक्षा सबैको जिम्मेवारी हो’ भन्ने सन्देश पु¥याउने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा भौरा बिधालयका प्रधानाध्यापक ब्रजकिशोर मिश्र ,बघवन प्रधानाध्यापक जितेन्द्र कुशवाहा, पत्रकार रमेश ठाकुरलगायतको उपस्तिथि रहेको थियो । असई यादवका अनुसार भौरा बिधालयका कक्षा ८,९ र १० र बघवन बिधालयका कक्षा ७ र ८ का बिद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम दिइएको छ ।

Leave a review