कोल्हवी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा बाराको बारागढी गाउँपालिकामा पार्टीको इतर समूहले संगठन सुदृढीकरण र वडा अधिवेशनको तयारीलाई केन्द्रमा राखेर कार्यक्रम गरेको छ।
कार्यक्रममा कांग्रेसका निवर्तमान सह–महामन्त्री उमाकान्त चौधरीले वडा तहदेखि नै संगठनलाई व्यवस्थित र सक्रिय बनाउनुपर्नेमा जोड दिए। महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्य, वडा सभापति तथा गाउँ कार्यसमितिका पदाधिकारीको भूमिका महत्वपूर्ण हुने उनले बताए।
वडा तथा गाउँ कार्यसमिति गठन गर्दा पार्टीको विधान, नियमावली र महाधिवेशन सम्बन्धी निर्देशिकाअनुसार प्रक्रिया अघि बढाउन चौधरीले निर्देशन दिए। स्थानीय तहमा संगठन विस्तारसँगै नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा सहभागी नेताहरू तथा कार्यकर्ताले १५ औँ महाधिवेशनको तयारी, वडा तहको संगठन निर्माण, क्रियाशील सदस्यको भूमिका र पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए। बारागढीमा आयोजित कार्यक्रमलाई महाधिवेशनपूर्व वडा तहमा संगठन परिचालन र आफ्नो पक्षको गतिविधि विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।
कार्यक्रममा बारागढी गाउँपालिका सभापति, विभिन्न वडाका सभापति, स्थानीय तहका पार्टी नेता तथा पदाधिकारी, कार्यकर्ता र क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो। यता संस्थापन पक्ष सभापति गगनकुमार थापा पक्षले भने बारागढी गाउँपालिकाको सवै वडाहरु र गाउँपालिकामा समेत अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।


