तामागढी साझेदारी वन उपभोक्ता समूहको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

साझेदारी डेलि
92 पाठक संख्या

कोल्हवी । बिनिता चौधरी / तामागढी साझेदारी वन उपभोक्ता समूहको छैटौँ वार्षिक साधारण सभा कोल्हवीमा सम्पन्न भएको छ। संस्थाको प्राङ्गणमा बुधबार एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरिएको हो।

तामागढी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र पनुहरको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले गमलामा पानी हालेर गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन संरक्षण सरकारको मात्र जिम्मेवारी नभएको बताउनुभयो। वन संरक्षणमा सरकारसँगै वन उपभोक्ता, स्थानीय समुदाय तथा सम्बन्धित सबै पक्षको साझा दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो।

स्थानीय उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै वनबाट प्राप्त हुने स्रोत–साधनको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वन विनाश रोक्दै वृक्षारोपण, वन संरक्षण, जैविक विविधताको रक्षा तथा वातावरणीय सन्तुलन कायम गर्न साझेदारी वन उपभोक्ता समूहको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हितसँग सम्बन्धित विषय र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। वन संरक्षणलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा वक्ताहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद साह कलवार,आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहरलाल साह, डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झा, सहजनाथ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भुनेश्वर धामी, कोल्हवी नगरपालिका–१ का वडाध्यक्ष राजहरण चौधरी, वडा नं. २ का वडाध्यक्ष गोपालप्रसाद अधिकारी, वडा नं. ३ का वडाध्यक्ष किशुनदयाल चौधरी र वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद मैनालीलगायतको उपस्थिति रहेको थियो।

Leave a review