जीतपुर । सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ५१ लाख ९७ हजार ४ सय ६८ रुपैयाँ खुद मुनाफा कमाएको छ। संस्थाको १९औँ वार्षिक साधारण सभामा सार्वजनिक गरिएको विवरणअनुसार सहकारीको कारोबार २० करोड रुपैयाँभन्दा माथि पुगेको छ।
सिमरास्थित थानिमाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको आर्थिक तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो। अध्यक्ष मुना खरेलको अध्यक्षतामा भएको सभामा संस्थामा हाल २ हजार १ सय २४ जना शेयर सदस्य रहेको जानकारी दिइयो।
प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी १ करोड ७८ लाख रुपैयाँ पुगेको छ। सहकारीले बचततर्फ १५ करोड ६२ लाख ८ हजार ३ सय १० रुपैयाँ संकलन गरी १४ करोड १४ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ। गत आर्थिक वर्षमा संस्थाको कुल कारोबार २० करोड ४३ लाख ६६ हजार रुपैयाँभन्दा बढी रहेको छ।
सभामा अध्यक्ष खरेलले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिकी संयोजक उर्मिला कुमारी सापकोटाले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। संस्थाकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार अनिता लम्सालले थोरै शेयर सदस्यबाट सुरु भएको महिला नेतृत्वको सहकारी १९औँ साधारण सभासम्म आइपुग्दा २ हजारभन्दा बढी सदस्य बनाउन सफल भएको बताउनुभयो।
साधारण सभाका अवसरमा उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, समूह तथा कर्मचारीलाई सम्मान गरिएको थियो। उत्कृष्ट बाल बचतकर्तामा अनुभव पौडेल र कृपा लामिछाने तथा उत्कृष्ट बचतकर्तामा उमा देवी लामा र मञ्जु देवी सम्मानित हुनुभयो। माइली देवी ठकुरीलाई ज्येष्ठ शेयर सदस्यका रूपमा सम्मान गरिएको थियो।
यसैगरी सगुन बचत समूह, असल बचत समूह र उज्ज्वल बचत समूह छातापिप्रालाई उत्कृष्ट समूहका रूपमा सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारी ओमकुमारी श्रेष्ठलाई ५ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ।
सचिव गीता कुमारी शर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भीमा देवी शर्मा, कोषाध्यक्ष सनम पौडेल, सहसचिव निलम चौधरी, सदस्य भगवतीया देवी, शान्ता कुमारी गौतम, किरण कुमारी झासहित शेयर सदस्यहरूको सहभागिता थियो ।


