बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका विभिन्न पालिका तथा क्षेत्रीय समितिले जिल्लाको अधिवेशन यथाशीघ्र सम्पन्न गर्न माग गर्दै केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
पालिका तथा क्षेत्रीय प्रतिनिधिहरूले पार्टीका महामन्त्री विपिन आचार्य र संसदीय दलका उपनेता गणेश पराजुलीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै विधानअनुसार जिल्ला नेतृत्व चयनका लागि तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
ज्ञापनपत्रमा तल्लो तहका कार्यकर्ताको भावना र जनादेशलाई सम्मान गर्दै खुला, प्रतिस्पर्धात्मक तथा पारदर्शी निर्वाचनमार्फत नयाँ जिल्ला नेतृत्व चयन गर्नुपर्ने उल्लेख छ। अधिवेशनबाट निर्वाचित नेतृत्वले मात्रै जिल्लामा पार्टीको संगठनलाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन सक्ने प्रतिनिधिहरूको भनाइ छ।
रास्वपा बाराको अधिवेशन अन्य जिल्लाको तुलनामा पछाडि पर्दा जिल्लाको संगठनात्मक हैसियत तथा प्रतिनिधित्वमा असर पर्न सक्ने उनीहरूले बताएका छन्। अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बारा लामो समयसम्म नेतृत्वविहीन रहनु उपयुक्त नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
निर्वाचित जिल्ला नेतृत्वको अभावमा स्थानीय जनसरोकारका विषयमा पार्टीको औपचारिक धारणा समयमै सार्वजनिक गर्न कठिनाइ भइरहेको समेत प्रतिनिधिहरूले जनाएका छन्।
उनीहरूले जिल्ला अधिवेशनको मिति र स्थान यथाशीघ्र तोक्न माग गरेका छन्। त्यसका लागि मतदाता तथा प्रतिनिधि सूची प्रकाशन, उम्मेदवारी दर्ता, मतदान र मतगणनालगायत निर्वाचन प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउनुपर्ने माग गरिएको छ।
त्यसैगरी केन्द्रीय निर्वाचन आयोगबाट आवश्यक निर्वाचन समिति वा सम्बन्धित संरचना गठन गरी अधिवेशन सञ्चालनको जिम्मेवारी लिनुपर्ने, सदस्यता तथा मतदाता विवरण विधान र निर्वाचन कार्यविधिअनुसार पारदर्शी रूपमा तयार गरी सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
अधिवेशनमा सबै योग्य सदस्यलाई समान अवसर सुनिश्चित गर्दै उम्मेदवारीदेखि निर्वाचन परिणामसम्मको सम्पूर्ण प्रक्रिया निष्पक्ष, समावेशी र पारदर्शी बनाउनुपर्ने उनीहरूको माग छ। कुनै व्यक्ति, समूह वा गुटको प्रभावभन्दा माथि उठेर विधानअनुसार अधिवेशन सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
विगतमा देखिएका विवादलाई आवश्यक समन्वयमार्फत समाधान गरी सबै पक्षको सहभागिता सुनिश्चित गर्न तथा अधिवेशनका लागि आवश्यक सुरक्षा र व्यवस्थापनको प्रबन्ध मिलाउनसमेत माग गरिएको छ। अधिवेशनको मिति, समय, स्थान र निर्वाचनसम्बन्धी सूचना सम्बन्धित सदस्यलाई समयमै औपचारिक माध्यमबाट जानकारी गराउनुपर्ने उनीहरूको भनाइ छ।
अधिवेशन सम्पन्न भएपछि पार्टी विधानको धारा ३२ र ३३ बमोजिम जिल्ला परिषद् तथा जिल्ला समिति गठन गरी जिल्लाको नियमित सांगठनिक गतिविधि तत्काल सञ्चालन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
रास्वपा बाराका प्रतिनिधिहरूले जिल्ला अधिवेशनमा ढिलाइ गर्नुपर्ने कानुनी बाधा नरहेको दाबी गर्दै पार्टीको संगठनात्मक आवश्यकता, सदस्यहरूको लोकतान्त्रिक अधिकार र विधानको मर्मअनुसार प्रक्रिया अघि बढाउन केन्द्रीय नेतृत्वसँग आग्रह गरेका छन्।
उनीहरूले अधिवेशनको मिति तत्काल घोषणा गरी निर्वाचन प्रक्रिया सुरु गर्न, सबै योग्य सदस्यको समान सहभागिता सुनिश्चित गर्न तथा सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन माग गरेका छन्। साथै यस विषयमा केन्द्रीय नेतृत्वबाट आवश्यक निर्णयसहित लिखित वा मौखिक प्रतिक्रिया उपलब्ध गराउन अनुरोध गरेका छन्।


